असई थमन विकको हत्या आरोपमा ठाकुर जेल चलान

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
जलेश्वर नगरपालिका वडा नम्बर ९ परिकौलीका मोहन ठाकुर सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जेल चलान भएका छन।

जिल्ला अदालत महोत्तरीले मङ्सिर २८ गते मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको घटनाको फैसला सुनाउँदै सो घटनामा संलग्न रहेका सात जनालाई जन्मकैदको सजाय तथा दुई जनालाई सफाइ दिएको थियो। अदालतले असई विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख रामशंकर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला गरेको हो। त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जय कुमार साहलाई समेत जन्म कैदको फैसला भएको हो।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र असई विकको हत्या आरोपमा पक्राउ परेर पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिएको थियो।

सो हत्याको आरोपमा धरौटीमा रिहा हभएका मोहन ठाकुरलाई सिन्धुलीबाट पक्राउ गरेर जेल चलान गरिएको हो। ठाकुर लेनदेन मुद्दामा सिन्धुली कारागारबाट सजाय काटी निस्कनै लाग्दा प्रहरीले नियन्त्रणमा लिएर महोत्तरी कारागारमा सजाय भुक्तानको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिए ।