बर्दिवास नगरपालिकामा भोलीदेखी माघ ३ गते सम्मकालागि विद्यालय बन्द

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण महोत्तरीको बर्दिवास नगरपालिकाले भोलीदेखी माघ ३ गते सम्मकालागि विद्यालय बन्द गरेको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले नगरपालिकाले पौष २५ गतेदेखि माघ ३ गतेसम्म नगरभित्रको सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिन लागेको हो ।

नगरपालिकाको शिक्षा समितिको आज बसेको बैठकले पुस २५ गतेदेखि माघ ३ गतेसम्म नगरका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा शाखाका अधिकृत गणेश प्रसाद दहालले जानकारी दिए ।
केहि दिनदेखी एक्कासि बढेको शीतलहर र चिसोका कारण बर्दिवासको जनजीवनमा असर पर्नुका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा बढेका छन् ।

बर्दिवासस्थित सरकारी तथा संस्थागत अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनायो । दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । चिसो बढेकाले सदरमुकाम जलेश्वर र जिल्लाका अन्य बजार क्षेत्रमा मानिसको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।