बसपार्क नहुँदा बर्दिवासको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बढ्दो शहरीकरणसँगै बर्दिवासमा बसपार्क नहुँदा यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ ।
बर्दिवास नगरमा बसपार्कको अभाव हुनाले सडककै छेउमा यत्रतत्र सवारी पार्किङ्ग गरिनुले पनि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त र असहज बन्दै गएको हो ।

जथाभावी सवारी पार्किङ्ग गरिनाले बाटो हिड्ने बटुवालाई बाटो काट्न अप्ठ्यारो भएको छ । बर्दिवासबाट छुट्ने सवारी साधनहरु विभिन्न ठाँउमा लैजानु पर्ने भएकाले यहाँ बसपार्क नहुँदा सडकको छेउमै पार्किङ्ग गर्नुपर्ने सवारी चालकको बाध्यता रहेको छ ।

विभिन्न कोणबाट बर्दिवासको विकास तिव्र गतिमा भइरहेको हुँदा ट्राफिक अस्तव्यस्तताले विभिन्न खालको सडक दुर्घटना हुने गरेकोले यसलाई व्यवस्थित गर्न स्थानिय सरकार यहाका राजनीतिक दल, नागरिक समाज र सबै सरोकारवाला निकाय एकै ठाउँमा बसेर छलफल गरी बसपार्क बनाउने सम्भावित ठाउँ खोजी गरेर यसको चाँडो व्यवस्थापन गर्नुपर्ने कुरामा बर्दिवास ८ हातीलेटका स्थानीय समाजसेवी टेकबहादुर बलम्पाकी जोड दिन्छन्।

बर्दिवासमा राजमार्गको फँुटपाटमा गरिएको व्यापार व्यवसाय केहिमात्रामा ब्यवस्थित गरीएपनी पुर्णरुपमै ब्यवस्थापन नहुनाले ट्राफिक व्यवस्थापन गर्न असहज भएको स्थानिय ब्यवसायी तथा समाजिक अभियन्ता निरु केशीको भनाई छ ।
बर्दिवासको बिपि राजमार्ग तथा पुर्व पश्चिम राजमार्गमा सवारीको चाँप बढेपनी यहा बसपार्क निर्माण नहुनाले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रामभक्त भट्टराई बताउँछन् । उनका अनुसार ई– रिक्सा र तिनपांग्रे सवारी साधनको दर्ता प्रणालीलाई
उचित व्यवस्थापन गर्न सके ट्राफिक व्यवस्थापनमा सहजता आउने समेत उनी विस्वास व्यक्त गर्छन् ।