सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको छ । प्रशासन कार्यालयले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएर निषेधाज्ञाजारी गरेको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ ।
सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।

मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन् । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए ।