निकेश खनाल
बर्दिवास
स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा शनिवार महोत्तरीको बर्दिवासमा दीप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरी क्षेत्र नम्बर १ को आयोजनामा सो दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा राप्रपाका मधेश प्रदेश सदस्य तथा प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय सदस्य निरु केशीले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताईन । स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिँदै उनले राजसंस्था मात्रै अबको विकल्प भएको जनाईन ।
कार्यक्रममा बोल्दै राप्रपा मधेश प्रदेशका अर्का सदस्य जगत बहादुर खड्काले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले नेपालका राजनितिक दललाई लेन्डुप दोर्जेको संज्ञा दिदै भ्राष्टाचारीहरु मिमलेर चलाएको देश जतिबेलापनी सरकार चलाउनेले बिदेशीको हातमा सुम्पन सक्ने जिकिर गरे ।
यसैगरी राप्रपाले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै बर्दिवास चोकमा प्रदर्शन गरेको छ । सोहि क्रममा राप्रपाले राज्य पक्षले गरेको दमनको विरुद्धमा चर्को नाराबाजी समेत गरेको छ ।
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर्, दोषी माथि कारबाही गर भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै राप्रपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेको छ ।