निकिता खनाल
बर्दिवास
पुस महिना लागेसँगै तराई मधेशको बर्दिवास सहितका स्थानमा आज देखी शितलहर पर्न थालेपछि चिसोका कारण यस भेगको जनजीवन कष्टकर हुन थालेको छ ।
महोत्तरी जिल्लाका उत्तरी भेगमा यसअघि चिसो र जाडो बढे पनि शीतलहरको प्रवाह थिएन । तर, शनिबार जिल्लाको बर्दिवास, गौशला, रामगोपालपुर, भंगहा लगायतका स्थानमा शितलहर बढेको छ । घाम हराएसँगै बढेको शीतलहरका कारण दैनिकी कार्य गर्न सर्वसाधरणलाई असहज भएको छ ।
वर्षेनी तराईका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । शीतलहरका कारण बढेको जाडोले कठ्याङग्रिएर मानवदेखि पशु चौपाया समेत प्रभावित हुने गरेका छन् । अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका, वृद्धबृद्धा ,सुत्केरी महिलालाई असर पर्ने देखिएको छ । शीतलहर र चिसो बढ्ने क्रम रहेमा खेतबारीमा लगाइएका तरकारीलगाएतका अन्य बालीमा समेत कमि आउनेमा किसानहरु चिन्तित छन् ।
जिल्लाका प्रमुख व्यापारिक ठाउँका रुपमा चिनिने बर्दिवास , गौशला ,रामगोपालपुर, जलेश्वर लगायतका स्थानका बजारमा मानिसको चहलपहलमा समेत कमीआएको छ ।
शीतलहर र हुस्सुका समयमा सडकमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सवारीसाधन विस्तारै चलाउन र बिहान तथा दिउँसो सवारी चलाउँदा बत्ती बाल्न सुझाउँदै आएको जनाएको छ । महोत्तरीमा शितलहर तथा चिसोका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् ।