आज्ञा खबर
सप्तरी
तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका तथा दिर्घजिवन बिताइरहेका जेष्ठ नागरिकको खोजि गरि सम्मान गरेको छ।
सो संघले दोश्रो जिल्ला सभाको अवसर पारेर बुधबार जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरेको संघका जिल्ला सचिव बैधनाथ झाले जानकारी दिए ।
सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य छन् । यस्तै रुपनी गाउँपालिकाका सीताबी प्रसाद साह पनि सम्मानित भएका छन् । उनीहरु सबै ८५ वर्ष भन्दा माथीका हुन् ।
जेष्ठ नागरिक जिल्ला संघको आयोजना तथा पूर्वकर्मचारी सेवा परिसद् नेपाल सप्तरी शाखाको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य माला कुमारी कर्णले उनीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे । सम्मानित दुई जना अस्वस्थ्य तथा असत्तताका कारण उपस्थित हुन नसक्दा उनीहरुको घरमै पुगि सम्मान गरिएको छ ।
जेष्ठ नागरिकलाई बृद्धा आश्रममा होइन्, घरमै सम्मान गरौं भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद कर्णले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार नगर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिइन् । “उर्जाशिल समय सन्तान र परिवारका लागि खर्चिने जेष्ठ नागरिक बृद्धाआश्रममा उपेक्षाको शिकार हुने क्रम बढ्दो छ, उनले भनिन्, यस्तो व्यवहार गर्नेलाई हामिले सामाजिक रुपमै बहिष्कार गरिनुपर्छ ।”
उनले जेष्ठ नागरिकप्रति हुने विभेद अन्त्य गर्न पालिकास्तरमा समेत समितिहरुको गठन आवश्यक रहेको बताउँदै अनुभवका खानी जेष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सम्मान कार्यक्रम समापनपछि लगत्तै सुरु भएको जेष्ठ नागरिक जिल्ला संघको बन्दसत्रले रामनरेश सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नवगठित संघको उपाध्यक्षमा शंकर सारदा, सचिव बैधनाथ झा र कोषाध्यक्षमा नन्दलाल साह रहेका छन् ।
यस्तै सदस्यहरुमा शिवनारायण साह, थानसिंह भंसाली, सुगम्बर यादव, सत्यनारायण देव, पवनप्रसाद सिंह, हितनारायण लाल दास र श्रीमती बच्ची मिश्राको चयन गरिएको संघले जनाएको छ ।