विपक्षी दलहरुले राजनीतिक प्रतिशोध साध्नको लागि मात्र रातु नदीको मुद्दा बनाएको हो : मेयर क्षेत्री

[sharethis-inline-buttons]

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी
बर्दिवास
बर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्रीले रातु नदी उत्खनन् ऐन कानूनको परिधिमा रहेर सम्झौता र ठेक्का वन्दोवस्ति गरिएको दाबि गरेका छन् ।

मेयर क्षेत्रीले शिरीष न्युजलाई रातु नदी अबैध रुपमा उत्खनन् भईरहेको भनि नगरका दलहरुले गरेको खबरदारीको सन्दर्भमा प्रक्रिया दिंदै उनले सबै मापदण्ड र प्रकृया पुरा गरेर मात्र ठेक्का लगाइएको बताए ।

उनले भने, “ “खवरदारी गर्नु विपक्षी दलको दायित्व हो तर विरोधको लागि मात्र विरोध प्रत्यूतपादक हुने संवैले बुझेकै कुरा हो ।”

मेयर क्षेत्रीले पूर्व स्थानीय सरकारले ५ वर्षमा नगरमा गर्न नसकेको काम आफूले डेढ वर्ष भित्र नै नमुना प्रस्तुत गरिसकेपछि विपक्षी दलहरुले राजनीतिक प्रतिशोध साध्नको लागि मात्र रातु नदीको मुद्दा बनाएको आरोप लगाए ।

उनले भने, “आइइई प्रतिवेदनअनुसार नदीको दुवै किनाराबाट ५०–५० मिटर छाडी त्यसवीच ३ फिट गहिराइमा करिव २ लाख ९४ हजार घन मिटर उत्खनन्को ठेक्का लागेको हो ।”

चार वटा प्याकेज रहेको रातु ठेक्काको चालु आर्थिक वर्षका लागि नगरपालिकाले करिव ७ करोड रुपैयामा रातुखोलाको किसाननगर, जुरेटोल र फूलबारी खण्डको उत्खनन् ठेक्का देव विष्णु कन्ट्रक्सनलाई दिएको छ भने पथलैया खण्डको उत्खनन् ठेक्का राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स भीमेश्वरलाई दिएको छ ।

यता ठेक्का पाएका कम्पनीहरुले मापदण्ड विपरित खोला उत्खनन् गरिरहेको भन्दै जिल्लाका सबै राजनीतिक दलले विरोध गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रातु खोलामा भइरहेको उत्खनन् र अनियन्त्रित क्रसरलाई तत्काल बन्द गर्न नगरपालिकासँग विज्ञप्ती मार्फत माग गरेका छन् ।

कांग्रेस नेता चिरन्जीवी हमाल, एमालेका शंकर महतो, माओवादी केन्द्रका राजु खड्का, एकीकृत समाजवादीका सुरेशबहादुर राउत, लोसपाका चेतकुमार थापा, जनमत पार्टीका विमलेश महतो, रास्वपाका पर्शुराम बस्नेत र राप्रपा नेपालका यानिखर गौतमको हस्ताक्षर रहेको विज्ञप्तीमा रातु खोलामा भइरहेको अनियन्त्रित उत्खनन्ले जिल्लामा पानीको संकट निम्तिएको र पर्यावरणमा गम्भीर असर परेको उल्लेख छ ।

खोला उत्खनन्को अनुगमन र जानकारी राख्ने जिल्ला समन्वय समिति महोत्तरी भने आफुहरुलाई खोलाको ठेक्का लागेको र उत्खनन् सुरु भएको कुनै जानकारी नभएको बताउँछ । नगरपालिकाले मनोमानी ढङ्गबाट काम सुरु गरेको र समन्वय समितिलाई कुनै जानकारी नदिएको जिसस प्रमुख सुमनलाल कर्णले बताए ।

यस सन्दर्भमा मेयर क्षेत्रीले स्थानीय सरकार स्वायत निकाय भएकोले नदी उत्खनन् ऐन कानूनको परिधिमा रहेर सबै प्रकृया पुरा गरेर नै ठेक्का लगाएको भरखरै ठेक्का लागेको जसमा ३ फीट सम्म उत्खनन् गर्नु पर्ने र चार प्याकेजमा ठेक्का लागेको हुँदा प्रत्येक प्याकेजमा एउटा एउटा स्काई वेटरको प्रयोग भईरहेको बताए ।

उनले भने, “बजारमा जुन किसिमको हल्ला भिजाइएको छ कि ७ देखि ९ फिट सम्म खाल्डो खनेर उत्खनन भईरहेको भनि वास्तवमा त्यो स्थान पुरानो रहेको छ । नयाँ ठेक्का सुरु नै मंसीर २८ गते देखि भएको छ। हामीले अनुगमन गर्ने मेकानिज्म तयार पार्दै छौं । नगरपालिका यस विषयमा गम्भिरछ।” मेयर क्षेत्रीले अगाडि थपे, “यदि ढुङ्गा गिटी र बालुवा बिक्रि वितरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७७ विपरित उत्खनन्का कार्य भइरहेको भेटिए । त्यस ठेकेदारलाई अबिलम्ब नै रोकिनेछ ।”

मेयर क्षेत्रीले नगरमा आफूले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा गर्दै आएको आमुल परिवर्तन र सुधार देखेर नगरको बजेट प्रभावित होस् भन्ने ध्येय राखेर विपक्षीहरु एकठाउँ उभिइएर अबैध ठेक्का र उत्खनन्को नारा लगाएको आरोप लगाए ।

शिरीश अनलाईनबाट साभार