आज्ञा खबर
बर्दिवास
फूलकोबी (काउली) ले उचित मूल्य नपाउँदा महोत्तरी बर्दिवासका किसान चिन्तित भएका छन । उत्पादनको मुख्य समयमा कोबीको मूल्य नपाउँदा बर्दिवास का ग्रामिण भेगका तरकारी खेती गर्ने किसान मारमा परेका हुन । यस क्षेत्रका किसानले फूलकोबी अहिले मुस्किलले प्रतिकिलो १० देखि १५ रुपियाँमा बिक्री गरिरहेका छन ।
यो वर्ष पानी नपरेर कोबी सप्रिएकाले आफू जस्ता कोबी खेती गर्ने किसानले मूल्य नपाएको बर्दिवास ९ पशुपती नगरका किसान महेन्द्र सिंहको गुनासो रहेको छ। उनले भने “सुरु पटकमा खेतबाट टिपेर १ सय ५० रुपैयाँमा बेचेको काउली अहिले भाउ ह्वात्तै घटेर १० रुपैयामा झर्याे यो वर्ष भाउ अझै गिर्ला जस्तो छ।
यस्तै भयो भने उत्पादनको लागत उठाउन समेत मुस्किल पर्ने छ।
यसैगरी बर्दिवास नगरपालिका–१२, बिजलपुराका अर्का किसान दशै महतोले पनि यो वर्ष कोबी खेती गर्ने किसान उचित मूल्य नपाउँदा मारमा परेको दुःखेसो पोखे उनले“१०रुपियाँ किलोमा कोबी बेचेर आफ्नो हैरानी र मल तथा विषादीको खर्च उठाउन समेत मुस्किल भएको बताए।
उनका अनुसार “किसानले लागत उठाउन पनि कम्तीमा ४५ देखि ५० रुपियाँसम्म प्रतिकिलो काउली हुनु पथ्र्यो ।
बर्दिवास नगरपालिकाको किसननगर बिजलपुरा, पशुपती नगर, लगायतका स्थान व्यावसायिक तरकारी खेतीकोे पकेट एरीया मानिन्छ।
यहाँका किसानले उत्पादन गरेको तरकारी गाउँकै हाटबजारसहित बडहरी,ढल्केबर, महेन्द्रनगर लगायतका मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा खपत भएर उभ्रिएको तरकारी काठमाडौँसहित देशका विभिन्न बजारमा समेत निर्यात हुने गरेको छ ।
