आज्ञा खबर
सर्लाही
सर्लाहीमा सात दिनअघि गाडिएको युवतीको शव आइतबार प्रहरीले उत्खनन गरेर निकालेको छ ।
हरिवन नगरपालिका–११, बालगङ्गामा मुस्लिम समुदायको दाहसंस्कार गर्ने ठाउँ (कब्रस्थान) को खाल्डोबाट प्रहरीले स्थानीय १७ वर्षीया तबसुन खातुन शव निकालेको हो। प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ । खातुनको कात्तिक २६ गते भएकोे मृत्यु शङ्कास्पद देखिएपछि एक साताअघि गाडिएको शव उत्खनन गरी परीक्षणका लागि अस्पताल लगिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए।
मृत्युबारे परिवारका सदस्यसँग सोधखोज गर्दा कुरा फेरिरहेको प्रहरी उपरीक्षक धितालले बताए।
युवतीको पेट दुखेर मृत्यु भयो भन्ने कुराकोे कारण पत्ता लगाउन नै शव उत्खनन गरेर पोष्टमार्टम गर्न लागिएको प्रहरी उपरीक्षक धितालले बताए।
प्रहरीले शनिबार नै मृतकको शव उत्खनन गर्ने प्रयास गरेको थियो तर मुस्लिम समुदायका धार्मिक अगुवाले यो आफूहरुको धर्मसँग जोडिएको विषय समेत भएकाले सरसल्लाहका लागि आइतबार बिहान सम्मको समय दिन आग्रह गरेका थिए । आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीय समेतको उपस्थितीमा प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसंस्कार गर्ने ठाउँ (कब्रस्थान) को खाल्डोबाट निकालेर परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगेको हो ।
पोष्टमार्टमबाट आत्महत्यासम्मको रिपोर्ट आउने र अस्पतालमा परीक्षण गर्दा आत्महत्या जस्तो नदेखिए भिसेरा परीक्षणका लागि मुटु, कलेजो र फोक्सोको टुक्रा काठमाडौं पठाइने प्रहरी उपरीक्षक धितालको भनाइ छ । प्रहरीले यस घटनाको अनुसन्धानका लागि मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक धितालको भनाइ छ । मृतक खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमानतर्फको छोरा सेख चाँदे फरार छन् । प्रहरीले फरार रहेका बाबु र छोरा दुवैको खोजी जारी राखेको छ ।