दिदीबहिनी–दाजुभाइबीच प्रेम र समर्पणको पर्व सामा–चखेवा’ शुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

दिदीबहिनी–दाजुभाइबीच प्रेम, सद्भाव र समर्पणको पर्वका रुपमा रहेको ‘सामा–चखेवा’ पर्व मिथिलामा शनिवारदेखी शुरु भएको छ।
कात्तिक शुक्ल पञ्चमीदखी प्रारम्भ भएको ‘सामा–चखेवा’ पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइन्छ ।
द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चखेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।
उनका अनुसार कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा–चकेवा पर्वको परम्परा बसेको मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ।
मैथिल परम्परामा प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चखेवा शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन देखी सुरु भई १० दिनसम्म चल्ने गर्दछ । एघाराँै पूर्णिमाका दिन सामा–चखेवाको विसर्जन गरी समापन गरिन्छ ।

दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चखेवा खेल्नेछन् । कार्तिक शुक्ल पञ्चमीका दिन बिहानै मिथिला क्षेत्रका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा पोखरी र नदीका भीर (पाखा, कान्ला) मा गएर सामा–चखेवा बनाउन दाजुभाइको हातबाट माटो खन्न लगाई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चखेवा (माटाका कलात्मक मूर्ति, आकृति) बनाएका छन् ।

सामा–चखेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर रङ्गीचङ्गी बनाइने गरीन्छ । रङ्गिसकेको चखेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा लगेर दश दिनसम्म गीत गाउँदै, नाच्दै चेलिबेटीले सामा–चखेवा खेल्छन् ।
चेलीबेटी तथा छोरीबुहारीले आ–आफ्ना दाजुभाइको सौर्यको बखान गर्दै समूहगत रुपमा गाइने गीत अत्यन्त प्रेमिल र कर्णप्रिय हुन्छन् ।
बहादुरीपूर्ण, परोपकारी र देशभक्तिका काम आफ्नै दाजुभाइले गर्नसक्ने भावका गीतले टोल गुन्जने गर्दछ । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय’ (गाउँका मुख्य भनिने नै हाम्रा जेठा दाजु हुन्, हे दाइ, गाउँमा राम्रो पोखरी खनाएर मगमग बासना चल्ने चम्पा पूmल छेउमा लगाइदिनोस।
दाजुभाइको सौर्य बखान गर्दै दिदीबहिनीहरु पर्वका हरेक रात सामा चखेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

दश दिनसम्म सामा चखेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा चखेवालाई पुनः बनाउने, रङ्गरोगन गर्ने, दिनभरि सुकाएर बेलुका दही चिउरा खुवाएर सोही सामा चखेवाबाट दाजुभाइको फार पोल्टा भराउने र दाजुभाइबाट सामा चखेवा फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँ÷नगर बस्ती नजिकको वन वा जोतिएको खेतमा लगेर उक्त सामा चखेवाको विसर्जन गर्छन् ।

मिथिला क्षेत्रका दिदीबहिनीका लागि सामा–चखेवा पर्व विशिष्ट रहँदै आएको छ । सामान्यतया विवाहित चेलीबेटी यो पर्व माइतमा मनाउने गर्दछन् । दाजुभाइ दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको यो पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण मानिन्छ । आफ्ना दाजुभाइरदिदीबहिनी नहुनेले नजिकका नाता पर्नेबाट पनि यो पर्व मनाउँछन् ।

सामा–चखेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने र दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहि आएको छ।
प्राचीन मिथिला क्षेत्रमा तथा सीमावर्ती भारतीय जिल्लामा समेत यो पर्व लोकप्रिय रहेको छ ।