आज्ञा खबर
सिरहा
सिराहामा बोक्साको आरोप लगाउँदै अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन । बुधबार घरमै बसिरहेका वेला ओमप्रकाशलाई उनका कान्छा काका विशेश्वर चौधरीले ‘छलफल गर्नु छ’ भन्दै नातामा आफन्त पर्ने परियाग चौधरीको घरमा लगेका थिए । त्यतिन्जेल त्यहाँ गुद्री चौधरी, सोनेलाल चौधरी, नेपाली चौधरी आइसकेका थिए । ‘म पुगेपछि परियागले काकालाई नै टुनामुना गरेर बिरामी बनाएको भन्दै गालीगलौज गर्न थाले । मैले प्रतिवाद गर्न खोज्दा छेउमै रहेका नेपाली चौधरीको हातमा रहेको लाठी खोसेर उनका छोरा रामभगतसहितले कुटपिट गरकोे,’ ओमप्रकाशले बताएका छन ।
कुटपिटबाट ओमप्रकाश गम्भिर घाईते भएका छन्। उनको देब्रे कान, गर्धन, पिठ्युँमा चोट लागेको छ ।
उनी उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा भर्ना भएर बिहीबार घर फर्किएका छन । ‘भाइलाई बोक्साको आरोपमा आफ्नै खलकका दाजुभाइले लाठी, मुक्काले कुटपिट गरेपछि प्रत्यक्षदर्शीहरूले छुट्याएछन्,’ ओमप्रकाशकी दिदी चन्दरदेवी चौधरीले भनिन्, ‘उनीहरूले यसअघि पनि पटक–पटक भाइलाई आफन्तहरूलाई टुनामुना लगाएको भन्दै कुटपिट गर्दै आएका थिए ।’
परियागकी श्रीमती बबिता चौधरीलाई बिरामी बनाएको, चार वर्षअघि स्थानीय वृद्धा भिनबतिया चौधरीको पनि टुनामुनाकै कारण मृत्यु भएको, टुनामुनाकै कारण नेपाली चौधरीलाई हातखुट्टाको जोर्नी दुख्ने रोग लागेको र उनको छोराको सात वर्षअघि भएको मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएको आरोपसमेत लगाएर आफूमाथि कुटपिट गरिएको ओमप्रकाशले बताए ।
शारीरिक अपांगता भएका ओमप्रकाशले चार छोराछोरी, श्रीमतीसहित ६ जनाको परिवार मजदुरी गरेर पाल्दै आएका छन । ‘शारीरिक अपांगता भएकाले ‘क’ श्रेणीको कार्डबापत गाउँपालिकामार्फत पाउने सामाजिक सुरक्षा भत्ता र मजदुरी गरेर आधा पेट खाएर भए पनि दुई कोठाको पक्की घर बनाएँ,’ उनले भने, ‘त्यसपछि मलाई देख्नेबित्तिकै बोक्साको आरोप लगाएर दुव्र्यवहार गर्दै आएका छन्न ।’
आफूमाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिने तथा समाज बोलाएर छलफल चलाउने बताएपछि ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिलापत्र गर्न दबाब आएको ओमप्रकाशले बताए । ‘अहिले गाउँमै मिल्नुपर्छ भनेर दबाब दिएका छन्,’ उनले भने । कुटपिट गरेपछि परियाग बुधबार साँझ नै विराटनगरतिर हिँडेको उनले बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले सूचना नभएको बताए । ‘त्यस्तो घटनाबारे अहिलेसम्म कतैबाट पनि कुनै सूचना पाएको छैन,’ उनले भने, ‘के भएको हो, बुझ्छौँ ।’ सखुवानन्कारकट्टी गाउँपालिका– २ का वडाध्यक्ष तनुकलाल यादवले बोक्सी मन्त्र, टुनामुना प्रयोग गरेको आरोपमा कसैमाथि कुटपिट गर्न नपाइने बताए ।