आज्ञा खबर
पर्सा
नक्कली जस्तो देखिने नोट सहित शुक्रबार पर्साबाट २ जना पक्राउ परेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका–८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगन्ज महानगरपालिका–३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन् । घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.२–०३–००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
