आज्ञा खबर
सर्लाही
सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ । महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएपछी फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियारले बताए।





































