आज्ञा खबर
पर्सा
वीरगन्जमा १० लाखको गरगहना चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
दशै मनाउन वीरगन्जबाट सर्लाहीस्थित पुर्ख्यौली घर गएका खिल बहादुर मैनालीको कोठा फोडेर १० लाख बराबरको गरगहना चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ३० वर्षीय पवन यादव वीरगन्ज १६ नगवाका ३२ वर्षीय शेख मख्खु रहेका छन्।
उक्त घटना कात्तिक ८ गते भएको थियो। घरबाट फर्किएका मैनालीले कोठामा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुवैलाई वीरगन्जबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका मख्खुको कोठामा खानतलाशी गर्र्दा मैनालीको कोठाबाट चोरी भएका सुनको औंठी २ थान, सुनबाट बनाइएको चन्द्रमाको कभर १ थान, सुनको डल्ला १ थान, मंगलसुत्र १ थान, कानको टप १ थान, चाँदीबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र नगद १५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर चोरीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।





































