आज्ञा खबर
महोत्तरी
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा अभियान सञ्चालन गरेको छ ।
ट्राफिकले यात्रुको सर्वाधिक चाप हुने जिल्लाका मुख्य सडक बर्दीबास, गौशाला रोड तथा जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको छ । सो अन्तर्गत सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ९४४ सवारी चालकलाई कारबाही गरी २४ लाख ७५ हजार रुपियाँ राजस्व संकलन गर्न सफल भएकोे जिल्ला ट्राफिक कार्यालय बर्दीबासले जनाएको छ ।
सडकमा सेवाग्राहीका बढ्दो गुनासो र परामर्शले सवारी नियमन गर्न सहज र प्रभावकारी भएको ट्राफिकको भनाइ छ । यात्रुको गुनासोका आधारमा तोकिएभन्दा बढी भाडा लिने काठमाडौँबाट फर्केका पाँच थान सवारीलाई कारबाही गरिएको बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताए ।
काठमाडौँबाट बर्दीबास आउने यात्रुसँग बिपी राजमार्गमा आकस्मिक चेकजाँच गर्दा एक हजार रुपियाँको ठाउँमा एक हजार चार सय रुपियाँ लिएको र काठमाडौँ–सिराहाको भाडा एक हजार तीन सय रुपियाँ लिनुपर्नेमा दुई हजार तीन सय रुपियाँ उठाएको खुल्न आएपछि त्यस्ता पाँच थान सवारीमाथि कारबाही गरिएको ट्राफिकले जनाएको छ।
चाडपर्वका बेला विश्वसनीय सेवासुविधा र सहुलियत प्रदान गर्न ट्राफिक कार्यालयले सवारीचालकदेखि यात्रुसम्मलाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।