मधेश प्रदेशका पुर्ब मन्त्रीसहित सात जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनाविरुद्ध मुद्दा दायर गरेकोहो।

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठान नेपालको सहकार्यमा एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सो उजुरीमा अनुसन्धान हुँदा १७ करोड ९८ लाख ३३ हजार बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको पुष्टि हुन आएको बताए।
उनले १७ करोड ९८ लाख ३३ हजार बिगोसहित आरोपपत्र दायर गरिएको जानकारी दिए ।
तत्कालीन मन्त्री विजय कुमारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप कदै सजाय समेत हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।