आज्ञा खबर
महोत्तरी
हरेक बर्ष असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन सन्तानवती मिथिलाका नारी)ले कठोर विधिको साथ लिने जितिया पर्व आज निराहार व्रत लिई बस्दैछन् । यो ब्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन ।
असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत बितेको मध्यरातअघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेर नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि ९९।२७० सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन् ।
सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन् । व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट ृजमाएर राखिएको पाकेको आँपको रसे खाएर ‘ओगटन’ विधि गरेका थिए ।
मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ । आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने बर्तालु आमा बताउँछन् ।
सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।
पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द—आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र ृनातिे, प्रपौत्र ृपनातिे र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ । त्यही नै व्रतका आराध्यदेव जितवाहनको कथा सुन्ने परम्परा छ ।