आज्ञा खबर
काठमांडौ
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य जारी गदै आपती जनाएका छन । उनले आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह समेत गरेका छन् ।
महसचिव विप्लवले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस) को सम्मेलनमा भाग लिन गएकोले नेपाली जनतालाई एकदमै चिन्तित बनाएको भन्दै यसप्रति आफ्नो पार्टीको गम्भीर ध्यान आर्कसन भएको बताए।
उनले सो घटनाबारे कडा आपत्ति जनाउँदैे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न समेत माग गरेका छन् ।
वक्तव्यमा भनिएको छ,‘आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस सम्मेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।’