आज्ञा खबर
सर्लाही
सर्लाही सदरमुकाम मलङ्गवामा गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि मलङ्गवा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) आदेश गरेपनी प्रदर्शन जारी रहेको छ ।
शुक्रबार मलङ्गवाका विभिन्न स्थानमा दिनभर प्रदर्शन भईरहयो । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत ढुङ्गामुढा प्रहारसमेत गरेका छन्। प्रदर्शन अराजक बन्दै गएपछि शुक्रबार दिउँसो २३ शेल अश्रुग्यास प्रहार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमाथि समेत बेलाबेलामा ढुङ्गा प्रहार भइरहेको छ ।
निषेधाज्ञाको पालना गराउन तथा थप अप्रिय घटना हुन नदिन मलङ्गवामा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । निषेधाज्ञा आदेश र बेलाबेलामा भइरहेको प्रदर्शनका कारण मलङ्गवा बजारका सम्पूर्ण पसल व्यवसाय बन्द छन् ।
शुक्रबार बिहानैबाट कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । निषेधाज्ञा र तनावका कारण हाटबजार बन्द र यातायातका साधन सञ्चालन नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन नदिन कर्फ्युलाई निरन्तरता दिइएको बताउनुभयो । मलङ्गवास्थित शिवसागर चोक नजिकको पोखरीमा मुर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा बिहीबार राति पनि नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेका थिए ।
झडपकै क्रममा एक घरमा भएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार झडपमा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन् ।
मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा पनि विवाद भइ निषेधाज्ञा जारी गर्नुपरेको थियो । त्यसपछि स्थिति सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार राति पुनः माहोल बिग्रिएपछि तनाव उत्पन्न भएको हो ।