आज्ञा खबर
सिरहा
प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने भएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अस्पताल हाताभित्र ब्लड बैंक सञ्चालन गर्न निर्माण भएको भवन अर्कै काममा प्रयोग हुँदै जीर्ण हुन लागेकाले समितीले यस्तो निर्णय गरेको हो। समितीले भबनको सुधार र अस्पतालले नै ब्लड बैंक सञ्चालन गर्ने क्रियाशीलता देखाउँदै सरोकारवालाहरूको रोहवरमा यस्तो निर्णय गरेको हो ।
ब्लड बैंक सञ्चालन गर्ने भनेर उपलब्ध गराइएको भवनमा हाल रेडक्रस सोसाइटी शाखा सिरहाले अर्कै काममा प्रयोग गर्दै आएको प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले आरोप लगाए ।
उनका अनुसार अन्दाजी १५ वर्ष अघि केही व्यक्तिको प्रयास र पहलमा ब्लड बैंक सञ्चालन गर्न रेडक्रसलाई भवन उपलब्ध गराएको थियो । तर रेडक्रस सोसाइटी शाखा सिरहाले ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले आवश्यकतालाई ध्यानमा राखेर हाताभित्रै रहेको भवनमा आउने केही दिनभित्र ब्लड बैंक सञ्चालन गर्ने भनी निर्णय गरिएको उनले प्रस्ट पारे ।
हाल सिरहा अस्पतालमा डायलिसिस सेवा, सुत्केरीको व्यवस्थित सेवा र विभिन्न खाले अप्रेसनका सेवाहरू बिस्तार गरिएको हुँदा ब्लडको अत्यावश्यक पर्ने गरेको छ।
अस्पतालमा ब्लड बैंक नहुँदा कतिपय अवस्थामा यस्ता सेवाहरुमा असर पर्ने गरेका छन् ।