आज्ञा खबर
धनुषा
विद्युत लाईनमा हुकिङ्गगरी चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशले कारवाही गर्न थालेको छ।
यस क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको हो ।
विद्युत प्रयोग गरिरहेको अवस्थामा अभियान टोलीले उनीहरुलाई पक्राउ गरी कारबाही गरेको नेपाल बिद्युत प्राधिकरण मधेश प्रदेशले जनाएको छ ।
प्रदेशका जिल्लामा रहेको २३ वटा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आर्थिक वर्ष २०७९–८० मा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा दुई हजार ७९० जनालाई हुकिङ्गगरी विद्युत प्रयोग गरिरहेको अवस्थामा पक्राउगरी कारबाही गरिएको सो कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई जरिवाना र फेरि विद्युत चोरी नगर्ने प्रतिबद्धता गराएर रिहा गर्दैआएको छ ।
यस्तै, अभियानको क्रममा विद्युत चोरी गर्ने मानिस पक्राउ नपर्दा प्रयोग गरिरहेको विद्युतीय सामग्री नियन्त्रणमा लिनुको साथै मिटरबाट चोरी गर्ने समेतको संख्या छ हजार ८४८ रहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय मधेश प्रदेश जनकपुरधामले जनाएको छ । यो संख्या अघिल्लो वर्ष छ हजार ९६७ रहेको थियो ।
प्रदेशभर विद्युत चुहावट नियन्त्रणगरी कारबाही गर्दा ५४ लाख ९४ हजार २७६ युनिट उठेको छ । जुन अघिल्लो वर्षको तुलना नौ लाख २६ हजार ४९९ युनिट बढी हो ।
अघिल्लो वर्ष ४५ लाख ६७ हजार ७७६ युनिट उठेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर मुनिन्द्र ठाकुरले जानकारी दिए।
विद्युत चुहावट नियन्त्रणको क्रममा विद्युत चोरी गरिरहेको अवस्था नियन्त्रणमा लिएको व्यक्ति, विद्युतीय सामग्री, विद्युत मिटरउपर कारबाही गरी दण्ड जरिवानावापत कूल पाँच करोड २१ लाख ९३ हजार ७३७ रुपियाँ राजश्व असुली भएको उनले बताए ।
यसभन्दा अघिको वर्षमा छ करोड ६४ लाख ३२ हजार ८५८ रुपियाँ कारबाहीबाट असुली भएको थियो । विद्युत चुहावट नियन्त्रण अभियानको तिव्रताको कारण चुहावट प्रतिशतमा पनि कमी आएको सो कार्यालयको भनाइ छ ।
