मनहरी: मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
“बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो”, उनले भने, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्याइएको थियो ।” नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए ।
मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।रासस





































