तिन बर्षमा धनुषामा चोरीका घटनामा हवात्तै बृद्धि

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
पछिल्लो समय धनुषामा चोरीका घटनाहरूमा ह्वात्तै वृद्धि भएको छ ।

पछिल्ला वर्षहरूको तुलनमामा धनुषामा चोरीका घटनाहरूमा दोब्बरले वृद्धि भएको हो । जिल्लाको मुख्य शहर जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरू हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा धनुषामा पाँच सयभन्दा बढी चोरीका घटना भएको
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत आर्थिक वर्षमा ५८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८÷०७९ मा २५१ र आर्थिक वर्ष २०७७÷०७८ मा २४० वटा चोरीका घटना भएका थिए ।

आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको सङ्ख्या न्यून रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
आर्थिक वर्ष २०७८÷०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७÷०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको उनले बताए ।

चोरीका घटनाहरूमा अधिकांश युवाहरू सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङ्कमा उल्लेख छ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरू चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरूको सन्तान र लागूऔषध दुर्व्यसनको कुलतमा फसेका युवाहरू आफ्नो दुर्व्यसनको इच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमको भनाई छ ।

चोरीका घटनाहरूमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ । चोरीका घटनाहरूलाई निर्मूल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सिमानाकामा जाँचमा कडाइ, भिडभाड हुने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनको भनाई छ ।