बारा:पथलैया–वीरगन्ज व्यापारिक मार्ग (६ लेन भित्र) र फुटपाथ अतिक्रमण गरेर बसेका बजार र अव्यवस्थित पार्किङ हटाइने भएको छ । पथलैयास्थित व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा व्यापारिक मार्गको ६ लेन र फुटपाथभित्र सञ्चालन भएको बजारलाई हटाउने निर्णय भएको हो ।
पथलैयादेखि परवानीपुर गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढेको र सडक पनि अस्तव्यस्त देखिएको छ ।
जीतपुर सिमरा उपमहानगरले आयोजना गरेको छलफलमा अवैध संरचना हटाउने नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा स्थानीय प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी सङ्घ र नगर उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने निर्णयमा उल्लेख छ ।
उद्योग कलकारखानाबाट निस्कने फोहोरजन्य पदार्थ, पानीलाई नालामा मिसाउने कार्य भइरहेको हुँदा सो कार्य रोक्ने, कोइला डिपोबाट निस्कने पदार्थ सडकमा छोड्ने र नालामा मिसाउने गरेको हुँदा त्यस्ता गतिविधिलाई समेत नियन्त्रण गर्ने, पथलैया –वीरगन्ज व्यापारिक मार्गलाई सफा र प्रदूषणमुक्त बनाउने निर्णयमा उल्लेख छ । व्यापारिक मार्ग योजना प्रमुख दीपेन्द्र पाण्डेले व्यापारिक मार्गको निर्माणको १५ वटा ठेक्कामध्ये ४ वटा ठेक्कामा समस्या भएको बताएको छन् । २०७१ सालमा सुरु भएको व्यापारिक मार्ग निर्माणको काम हालसम्म ९८ प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
१५ वटा योजनाको करिब ७ अर्ब ५० करोडको ठेक्का ५ अर्ब ५० करोडमा सम्झौता भएको हो । ‘बाटो बनाउने काम योजना कार्यालयले गर्यो, ११ वटा ठेक्कामा सडक हस्तान्तरण भइसक्यो, जुन उद्देश्यका लागि सर्भिस लेन बनाइएको थियो त्यो सर्भिस लेन पाकिङ्गको लागि बनाइएको त होइन’ आयोजना कार्यालयका प्रमुख पाण्डेले भने ।
_UHkFCto2mX.jpg)
पाण्डेको अध्यक्षतामा सम्पन्न छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षत्री कुर्मी, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक अभिनयकुमार सिंह, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्य, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरीलगायत सहभागी थिए ।
यस्तो छ बैठकले गरेको ६ बुँदे निर्णय:
आयोजना कार्यालयमा बसेको बैठकले व्यापारिक मार्ग अन्तर्गत पथलैया–सिमरा–जीतपुर–परवानीपुर–गण्डक सडक खण्डमा भएको अनधिकृत पार्किङ तथा बजारीकरणको कारणले हुन जाने दुर्घटना र भौतिक संरचनामा हुने क्षतिलाई मध्यनजर गरी आयोजनाको अगुवाइमा उद्योग वाणिज्य सङ्घ, जीतपुरसिमरा उपमहानगर, तराइ यातायात व्यवसायी सङ्घ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा सडक क्लियर गर्न पहल गर्ने ।
आयोजनाको पहलमा सडक किनाराको पार्किङ तथा बजारीकरण हटाई सकेपछि त्यसबाट परेको प्रभावलाई विश्लेषण गरी जीतपुरसिमरा उपमहानगरले आवश्यक व्यवस्थापन गर्ने ।
व्यापारिक मार्गको ६ लेन देखि सर्भिस लेनसम्म पहुँच सडकको जथाभाबी माग गरेको, अनधिकृत रूपमा संरचनाहरू भत्काएर पहुँच मार्ग निर्माण गर्दा दुर्घटना बढेकोले ट्राफिक कार्यालय र स्थानीय जनप्रतिनिधिबाट आवश्यक सहजीकरण गर्ने ।
उद्योगबाट निस्किएको प्रदूषित पानी व्यवस्थापन गर्न उद्योग वाणिज्य सङ्घ र स्थानीय प्रशासनबाट समन्वय गर्ने ।
स्थान पहिचान भइसकेको ठाउँमा आकाशे पुल निर्माणको लागि सिफारिस गर्ने ।

