क्षिरेश्वरनाथ नगरपालिका व्यवस्थित बनाउने अभियान सुरु

[sharethis-inline-buttons]

जनकपुरधाम:नगरपालिकालाई सफा, स्वच्छ, सुन्दर, व्यवस्थित र विकसित नगरपालिका बनाउने अभियान सुरु भएको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले बताएका छन् । यस  अभियानअन्तर्गत नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा फुटपाथ मिचेर निर्माण गरिएका संरचना हटाउने अभियान मंगलवारदेखि सुरु भएको छ ।

मेयर यादवले यो अभियानलाई नगरपालिकाको सबै वडामा निरन्तरता दिने बताए । उनले नगरवासीसँग यस अभियानमा साथ पाउने विश्वास व्यक्त गरे ।

मधेस प्रदेशको राजधानी जनकपुरधामपछि दोस्रो सहरको रुपमा रहेको महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने मेयरको योजना छ ।

नगरपालिकाले बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै  यो अभियान सुरु गर्न १५ दिने पहिले सूचना जारी गरेको थियो ।

तर, पटक–पटक माइकिङ गर्दा समेत व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर सार्वजनिक स्थलमा रहेको घर, टहरा र पसलहरु हटाउन थालिएको छ ।

‘महेन्द्रनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गर्दछु,’ मेयर यादवले भने, ‘सुन्दर सहर हामी सबैको अभियान हुनपर्छ ।’

अभियानअन्तर्गत छ लेन सडकको फुटपाथमा पसलमा निर्माण गरेका अवैध संरचना हटाउन थालेको छ । अभियान नटुंगिदासम्म हरेक दिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।