आज्ञा खबर
महोत्तरी
नेपाल रेल्वे कम्पनीले आइतबारबाट जयनगरदखी महोत्तरीको भंगहा सम्म रेल सञ्चालन गर्ने भएको छ । जयनगर–जनकपुर–कुर्थासम्म हाल सञ्चालन हुँदै आएको रेल आईतवारदेखी भंगहासम्म सञ्चालनमा आउँने भएको हो ।
रेल सञ्चालनको उद्यघाटन संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने भएका छन।
विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए ।
भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेकाले रेल सञ्चालन गर्न लागेको रेल्वे कम्पनीले जनाएको छ ।
अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी रहेपनि यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीका संचालक झाले बताए । रेल्वे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा पनि रहेको उनले बताए । अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ ।
जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिन सकेकाले छिट्टै काम सुरु गर्न नसकेको बताईएको छ।
२ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेपनी मुआब्जा विवादमा अल्झिएको कारण बर्दिवास सम्म रेल सञ्चालनमा ढिलाई भईरहेको छ।
