आज्ञा खबर
बीरगंज
वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहको पहलमा वीरगञ्ज स्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो ।
मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने विषयमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँगको छलफलपछि नारायणी अस्पतालमा सेवा शुरु गर्ने सहमति भएको हो ।
मिर्गौला प्रत्यारोपण सेवा शुरुगर्न वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा मेयर सिंहले सबै प्रकारको भौतिक संरचनासहितको सहयोग अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वीरगञ्जमा सेवा शुरु भएपछि पर्सासहित मधेस प्रदेशका बिरामीलाई उपचार सेवा सहज हुनेछ ।
नारायणी अस्पतालमा शल्यक्रिया कक्ष शुरु गराउन आवश्यक जनशक्तिलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालिम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टरसहितको समूहले मिर्गौलाको प्रत्यारोपण शुरुगर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।
