धनुषा- धनुषाको मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मीहरु तलव भत्ता लगायतको माग गर्दै ११ दिन देखि आन्दोलित भएका हुन् । स्वास्थ्यकर्मीहरुले आकस्मिक (ईमेरजेन्सी) बाहेकको सबै सेवा बन्द गरी विगत ११ दिन देखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आर्थिक वर्ष विगत ८ महिना देखिको बाँकी तलव भत्ताको व्यवस्था गर्न, बाँकी रहेको पोशाक भत्ताको रकम लगायतको माग पुरा गराउन धर्ना बसेका हुन् ।स्वास्थ्यकर्मीहरुले नगरपालिकाको मिथिला विहारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तारापट्टीको मूल गेटमा विभिन्न ६ सुत्रिका मागहरु राख्दै आन्दोलनमा उत्रिएको सघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनले भने, ‘हामी स्वास्थ्यकर्मी दिनरात नभनी खटिरहेका हुन्छौं, तर हाम्रो सेवा सुविधा ८ महिना देखि नपाउँदा हातमुख चलाउन समस्या भैसक्यो ।’
आर्थिक वर्ष २०८०÷०८१ देखि नियमित रुपमा महिनाबारी तलवको व्यवस्था गर्न, हरेक स्वास्थ्य चौकीहरुमा औषधिको सहज व्यवस्थापन गर्न, विगत तीन वर्षदेखि बाँकी रहेको नागरिक लगानी कोष र संचय कोषको रकम समयमै जम्मा गर्न माग अघि सारेको छ । स्वास्थ्यकर्मी संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले भने, ‘मेयर साब देखि हाकिम साब सम्मले यो वर्ष स्वास्थ्यकर्मीको लागि बजेट नै नआएको भन्दै पन्छिन खोेजेको छ ।

सबैको बजेट पालिकामा आएको छ, तर हाम्रो मात्रै बजेट आएन कस्तो अनर्गल कुरा हो यो ?’ मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले सिडियो कार्यालयको मिटिङ्ग रहेकोले बोल्न नमिल्ने बताए ।
उनले भने, ‘मिटिङ्गमा तपाई कसरी बोल्नु पछि कुरा गरौंला ।’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले फोन उठाएर बोल्न चाहेनन् । उनले पहिलो पटक फोन उठाएपनि दोश्रो पटक फोन काटिदिए ।
