आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको भवनको निर्माणको कार्य धमाधम भईरहेको छ। ‘सन् २०२४ सेप्टेम्बर ३० सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालको आर्थिेक सहयोगमा निमार्ण भईरहेको सो भबनमा तोकिएको समय अबधि भन्दा अघि नै भवन निर्माण कार्य सम्पन्न भइसक्ने गरी काम भइरहेको छ।
झन्डै एक अर्ब पाँच करोड लागतमा निर्माण भइरहेको चारवटा अत्याधुनिक पक्कि भवनको भौतिक संरचनाको निर्माण गर्न लुम्बिनी विल्डर्सले ४२ करोड १६ लाख २८ हजार रुपैयाँमा ठेक्का पाएको छ।
मंगलवार भवन निर्माण योजनाको अनुगमनका लागि शिक्षालय पुगेका कोइका नेपालका प्रोजेक्ट म्यानेजर प्रोफेसर जयमुन जिअङले भवन निर्माणको काम ३९ प्रतिशत सम्पन्न भएको सञ्चारकर्मीलाई बताए। तोकिएको अबधि भन्दा दुई महिना अगाडि नै भबन निमार्ण सम्पन्न लक्षय राखेको र भबन निमार्ण भइसकेपछि डेस्क–बेन्चलगायतका आवश्यक सामाग्रीहरू कोरियाबाटै ल्याईने उनले जनाए।
हाल शिक्षालयमा सञ्चालनमा रहेको डिप्लोमा र प्रि–डिप्लोमाको पाठ्यक्रमलाई समय सापेक्ष परिवर्तन गरेर शैक्षिक स्तरलाई अझ स्तरीय बनाउने योजना रहेको जिअङले भने। ‘पाठ्यक्रम परिमार्जनदेखि पुस्तक छपाएर विद्यार्थीलाई सिधै हातहातमा वितरण गर्नेसम्मको हाम्रो योजना छ। यसका लागि शैक्षिक गुरुयोजना तयारी पारिसकेका छौं। छिट्टै त्यसमा काम गर्छौ,’ जिअङले भने। शिक्षालयका प्रोफेसरहरूलाई पनि सर्ट टर्म तालिमहरू दिएर प्रशिक्षित गरिने छ।
सिटिइभिटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय यस शिक्षालयले प्राविधिक विषयका सातवटा कार्यक्रम सञ्चालन गरिरहेको छ। २०७५ सालमा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।
