ठगी गर्ने एक जना पक्राउ तिन फरार

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
ठगी गरेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ का पप्पुकुमार साह रहेका छन्। साहलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी तथा प्रवक्ता रविन्द्रराज पाण्डेले बताए।

उक्त ठगीमा संलग्न अन्य तीन जना फरार छन्। धनगढीमाई नगरपालिका–३ मा सञ्चालित मोडेल कृषि फर्म प्रालिका सञ्चालक सन्जीव कुमार साहले पप्पुबाट १ करोड रुपैयाँ लिएका थिए। रुपैयाँ लिए वापत उनले पप्पुलाई खाली चेक र १ करोड ८० लाखको कपाली तमसुक गरिदिएका थिए।

आफूले दुई महिनामै १ करोड ६४ लाख रुपैयाँ फिर्ता गरिदिएको सन्जीवले सुनाए। कपाली र चेक फिर्ता गर्न नमानेर उल्टै चेक बाउन्स गरी बैकिङ कारोबार रोकाइदिएपछि विक्रम साहमार्फत थप २४ लाख रुपैयाँ तिरेको सन्जीवको दाबी छ।

‘आफूले पटक पटक गरी २ करोड २१ लाख रुपैयाँ तिरिसकेको छु, तर पनि अझै कपाली र चेक फिर्ता पाएको छैन,’ सञ्जीवले भने, ‘सिडिओ कार्यालयमा निवेदन दिएपछि छलफल भयो। पैसा तिरेँ। कागजात फिर्ता पाइनँ।’ आफूले न्याय पाउनुपर्ने उनले बताए।