आगलागीबाट तीनवटा घरमा क्षति, ९ लाखको धनमाल जल्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको रामनगर गाउँपालिका–२,धुर्वा टोलमा बिहीबार साँझ खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा एउटा घर पूर्णरुपमा जलेको छ भने दुईवटा घरमा क्षति पुगेको छ ।

स्थानिय अमिचन राय यादवको फुसको घरबाट सल्किएको आगोले उनको दुई छिमेकी समेतको गरी तीनवटा घरमा क्षति पुगेको हो । आगलागीबाट अमिचन राय यादवको फुसको घर पूर्ण रुपमा जलेको छ ।
आगोले घरसहित घरभित्र रहेका अन्न, कपडा र अन्य सरसामाग्री जल्दा छ लाख रुपियाँ बराबरको क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलागीबाट छिमेकी सुरेश ठाकुर र विनोद ठाकुरको खपडाले छाएको घरमा आशिंक क्षति पुगेको हो । सुरेशको एक लाख ५० हजार र विनोदको पनि सोही मूल्य बराबरमा क्षति भएको पीडितले बताएका छन् ।

आगलागी गाउँले, प्रहरी र सदरमुकाम मलङ्गवाबाट पुगेको दमकलको सहयोगमा करिव एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।