पर्सा: पर्सा राष्ट्रिय निकुञ्जको विभिन्न भागमा झन्डै एक महिनादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै रोकिएको छैन । हालका दिनमा वर्षा नभएकाले पनि डढेलो विस्तार हुने क्रम जारी छ ।
निकुञ्ज तथा राष्ट्रिय वनको विभिन्न क्षेत्रमा डढेलो लागेको तथा किसानले गहुँ बाली भित्र्याइसकेपछि त्यसको छ्वाली जलाउने क्रम पनि बढेकाले सदरमुकाम वीरगन्जलगायतका स्थानमा सोमबार बिहानैदेखि धुँवाको तुँवालो लाग्ने र सर्वसाधारणको आँखा पोल्ने समस्या सुरु भएको छ । वीरगन्ज प्रसौनीका किसान विजय कोइरीले सोमबार बिहानैदेखि तुँवालो लागेको र आँखा पोल्न थालेको बताए ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। अशोक रामले हालसम्म निकुञ्जको कुल क्षेत्रफलको ६० प्रतिशत भागमा डढेलो लागिसकेको बताए । ‘सामान्यतया निकुञ्जमा ३ चरणमा डढेलो लाग्छ, यस वर्ष दोस्रो चरणको अन्तिम समय हो,’ उनले भने, ‘आइतबार मात्रै अमलेखगन्जस्थित नेपाली सेनाको संरक्षण शिक्षालयमुनिको भागमा ठूलो डढेलो लागेको थियो ।’
यसबाहेक निकुञ्जअन्तर्गत कालिदह, मकवानपुरको प्रतापपुर तथा पर्साको शिकारीबास क्षेत्रमा लागेको ससाना डढेलो आइतबार नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनले अब केही दिनपछि तेस्रो चरणको डढेलो लागेपछि यस वर्षको डढेलो समाप्त हुने बताए ।





































