आज्ञाखबर
सर्लाही
सर्लाहीको नयाँरोडस्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीयले बिहीबार दिउँसोे चक्काजाम गरेका छन् ।
जबरजस्ति करणी आरोपीलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको भन्दै स्थानियले चक्काजाम गरेका हुँना
गएको फागुन २५ गते हरिवन नगरपालिका–९, दनवारीका ५५ वर्षीय नारायण गौतमले गाउँकी एक १३ वर्षीया बालिकालाई ललाइफकाई करणी गरेको आरोप लागेको छ । घटनापछि आरोपित गौतम फरार रहेका छन् । पीडित परिवारले गौतमविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा किटानीजाहेरी दिएका छन् ।
घटना भएको एक साताबितीसक्दा समेत प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय राजमार्गमा जम्मा भइ नारा जुलुस सहित टायर बालेर यातायात अवरुद्ध पारेका हुन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतले बन्दस्थलमा पुगी आरोपित व्यक्तिको खोजी भइरहेको र जतिसक्दो चाँडो पक्राउ गरी कारवाही अघि बढाउने प्रतिवद्धता जनाएपछि स्थानीयले राजमार्ग सूचारु हुन दिएका छन् ।
इलाका प्रहरी कार्यालय हरिवनले पीडितको तर्फबाट किटानी जाहेरी दर्ता भइसकेको र आरोपितको खोजी तीव्र पारिएको जनाएको छ । आन्दोलित स्थानीयले आरोपित गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको दावी गरेका छन् ।
आरोपितलाई पक्राउ गर्न माग गर्दै हरिवन ९ का स्थानीयले गएको मङ्गलवार पनि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए ।





































