आज्ञा खबर
बारा
आफ्नो बुवाको नाममा मोही नभएको जग्गा देखाई किर्ते गरेको आरोपमा प्रहरीले बाराको परवानीपुर गाउँपालिका–५ बस्ने जनता समाजवादी पार्टी नेपालका पूर्व बारा जिल्ला अध्यक्ष अजय कुमार पटेललाई पक्राउ गरेको छ।
पटेलले बाराको साबिक गाबिस बहुअरी–६ हाल परवानीपुर गाउँपालिका–५ को किता नम्बर ४१ को पाँच विगाहा १९ कठ्ठा १५ धुर जग्गा२०२२ सालदेखि नै काठमाडौँ–५ बस्ने विजयमणि आचार्य दीक्षितको नाममा दर्ता रहेको किर्ते गरी मोही देखाएका थिए।
उक्त जग्गा किताकाट भई कायम भएको किता नम्बर २५२ को पाँच विगाहा ६ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय बाराबाट गत वैशाख २६ गते राजीनामा लिखत पास भई शिरोम इन्भेष्टमेन्ट प्रालि काठमाडौँको नाममा गरिएको थियो।
सोही जग्गा प्रकरणमा पक्राउ परेका पटेलले आफ्ना बुवा मदनप्रसाद कुर्मीको नाममा किर्ते कागजात तयार पारी मोही देखाएका थिए। लिखत सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका पटेललाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता पुरुषोतम प्रसाद पाण्डेले जानाकारी दिए।
पक्राउ परेका उनलाई अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको पाण्डेले बताए।





































