आज्ञा खबर
महोत्तरी
बोरिङको सतह फुटेपछि महोत्तरीको गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ। करिब चार सय घरधुरी ले प्रयोग गर्दै आएका सो धारामा सफा पिउने पानी आउन छाडेपछी स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन् ।
पाँच दिनदेखि वडा न.१२ को कान्तिबजार, नयाँ टोल, परहडिया, पुरानो कान्तिबजारलगायतका स्थानीयवासीहरु धमिलो र दूषित पानी पिउन बाध्य भएका स्थानीय हृदय सिंह कुशवाहाले जानकारी दिए।
आइतबारकबाट नगरपालिकाले पिउने पानीको लागि ट्याकंरबाट व्यवस्था गरे पनि त्यो पर्याप्त बन्न सकेको छैन। ‘नगरपालिकाले ल्याएको ट्याकंरको पानी पहुँचवालाहरुले मात्र पाएका छन्,’ कुशवाहाले भने, ‘पालिकाले तत्काल स्वच्छ खानेपानी व्यवस्था नगरेर स्थानीयवासीमा स्वास्थ्यमा समस्या देखिन सक्छ।’
यता वडा अध्यक्ष कुशेश्वर सिंहले भने स्थानीयहरुको धारामा धमिलो दुषित पानी आए पनि पिउने पानीको समस्या नरहेको दाबी गरेका छन्। ‘बोरिङ अनुगमनको लागि जाँदा पिँधमा फुटेको देखियो,’ उनले भने, ‘त्यही बोरिङलाई मर्मतसम्भार गर्न सक्ने अवस्था छैन। नयाँ बोरिङको प्रक्रियामा छौँ।’
दुषित पानीको कारण स्थानीयमा स्वास्थ्यमा समस्या देखिन थालेको छ। परहडियाका केही स्थानीयहरुमा झाडापखाला, रुघाखोकी जस्ता समस्या देखिन थालेको दिपलाल महतोले जानकारी दिए। ‘विशेषगरी गर्भवती महिला, बालबालिकाहरुमा समस्या देखिन थालेको छ,’ उनले भने।
पानीको समस्या समाधानका लागि नगरपालिका जाँदा उल्टै गाली गर्ने गरेको बताएका महतोले स्थानीय सरकारबाट अभिभावकत्व नपाएको गुनासो समेत गरे। पिउने पानी जस्तो गम्भीर विषयमा स्थानीय सरकारले बेवास्ता गरेको बताउँदै तत्काल समस्या सावधानको लागि पहलकदमी लिन स्थानीयहरुले ध्यानाकर्षण गराएका छन्।
धमिलो र दूषित पानीको मुख्य दोषी खानेपानी उपभोक्ता समितिलाई दिँदै स्थानीयहरुले वडा अध्यक्ष आफै अध्यक्ष रहेको उक्त समितिले उपभोक्ताहरुको हितअनुकुल काम नगरेको हुनाले नै यस्तो अवस्था सिर्जना भएको आरोप लगाए।
खानेपानी बोरिङलाई केही स्थानीयहरुले राती चोरेर सिंचाइमा प्रयोग गर्ने र मोटर लगाएर निकाल्ने गरेको हुनाले फिल्टरमा समस्या भएर इनार काम नलाग्ने भएको स्थानीय हृदय सिंह कुशवाहा बताउँछन्।
गौशालामा पानीको समस्या भएको यो पहिलोपटक भने होइन । यसअघि गैरिटोलमा पनि विद्युत् प्राधिकरणबाट लाइन काटेपछि पिउने पानी अवरुद्ध भएको थियो।