आज्ञा खबर
सर्लाहीका सडकमा सवारी दुर्घटना बढ्न थालेको छ । पछिल्ला पाँच महिनामा २९ जनाले ज्यान गुमाएका छन् । सर्लाहीमा दैनिक चारवटासम्म दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला पाँच महिनामा तीन सय ९७ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परेकामध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् भने पाँच सय २६ जना सामान्य घाइते भएका छन् ।
३० किलोमिटर पूर्व–पश्चिम राजमार्ग तथा हजारौँ किलोमिटर पक्की र कच्ची गरेर भित्री सडक रहेको यस जिल्लामा दैनिक हुने सवारी दुर्घटना बढ्दै गएको छ । गत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने पनि दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको संख्या लगातार बढ्दै गएको देखिन्छ । यस अवधिमा एक सय ९१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष ०७६र७७ मा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाले ज्यान गुमाएका थिए । ०७७र७८ मा ६ सयवटा सवारी दुर्घटना भएको थियो, जहाँ ६२ जना र ०७८र७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
जिल्लामा सडक र सवारी दिनप्रतिदिन असुरक्षित बन्दै गएको स्थानीय राजकुमार मैनाली बताउँछन् । बिहान घरबाट निस्किएको व्यक्ति सकुशल घर नफर्किने हो कि भन्ने चिन्ता बढ्न थालेको उनले बताए । नागरिक अगुवा शिवचन्द्र चौधरी सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने बताए । साँघुरो सडक, सडकको दुरवस्था, लापरबाहीपूर्ण यातायात सञ्चालनलगायत कारण धेरै दुर्घटना हुने देखिन्छ ।
सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत देखिने अवस्थामा नरहेकाले दुर्घटना बढेको यातायात व्यवसायीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कार्की भने दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताउँछन् । सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको उनले बताए । दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै गल्ती गर्ने सवारीचालकलाई नियमानुसार दण्ड–जरिवानासमेत गर्ने गरिएको उनले बताए ।
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा १२ हजार ५० वटा सवारीसाधनलाई कारबाही गरेको छ । यसबाट ९० लाख २७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।





































