आज्ञा खबर
सरकारले उखुको मूल्य निर्धारण नगर्दै चिनी उद्योग धमाधम सञ्चालनमा आउन थालेका छन् ।
मुलुकमै सबैभन्दा धेरै उखु खेती हुने र धेरै चिनी उद्योग रहेको सर्लाहीमा दुईवटा चिनी उद्योग सञ्चालनमा आएका छन् । हरिवनको इन्दुशंकर चिनी उद्योग र बगदहको महालक्ष्मी चिनी उद्योगले उखु क्रसिङ थालेका हुन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने सञ्चालनबारे अन्योल छ । देशकै सबैभन्दा ठूलो क्षमताको इन्दुशंकर चिनी उद्योगले दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता राख्ने उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिएका छन् ।उति नै क्षमता रहेको महोत्तरी, गौशालाको एभरेस्ट सुगर मिल सञ्चालनमा आइसकेको छ । सर्लाही, महोत्तरी, सिरहा, बारालगायत तराईका जिल्लाका सबैजसो चिनी उद्योग केही दिनअघिदेखि सञ्चालनमा आएका छन् । उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा किसान भने निराश भएका छन् । बिनामूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरेका छन् । उखुको मूल्य तोक्न सरकारले बेवास्ता गरेको उनको आरोप छ ।