आज्ञा खबर
महोत्तरी
स्थानीय तह निर्वाचनमा बर्दिबास नगरपालिका स्वतन्त्र उम्मेदवारलाई जिताउन विशेष भूमिका खेलेका यूवाहररुको एक समूहले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार पाेषण थापालाई नसघाउने भएका छन् । उक्त समूह नै मंगलकार कांग्रेसमा फर्किएकाे छ । कांग्रेसबाटै अलग्गिएका उनीहरू पुनः पार्टी मै फर्किएका हुन् ।
फर्किने युवाहरूमा आशुतोष झा, प्रकाश बस्नेत, विकास राई, गुञ्जबहादुर विश्वकर्मा, अक्कल राई, भीमप्रसाद घिमिरे, अम्बर श्रेष्ठ, विवेक गौतम, गोपाल मोक्तान, मलिराम भारती, सुरेश भट्टराई, चन्द्रप्रसाद आचार्य, केशव घिमिरेलगायतका छन् ।
उत्साहित हुँदै स्वतन्त्रलाई समर्थन गरी मेयरमा निर्वाचित गराए पनि नेतृत्वले सोचेअनुरुप काम नगरेपछि कांग्रेसमै फर्किएको उनीहरूले बताए । ‘विगतका नेतृत्वले कमजोरी गरे भनेर स्वतन्त्रलाई जिताइयो । तर, नगरवासीका समस्या समाधानतर्फ नेतृत्व नलागेको सर्वत्र गुनासाे छ ।’ कांग्रेसमा फर्किएका प्रकाश बस्नेतले भने, ‘अहिले फेरि संघ र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रका नाममा अक्षम उम्मेदवार खडा गरिएकाले हामी पुनः कांग्रेस नै फर्किएका हौं, हामीलाई विश्वास छ अरु साथी पनि चुनावसम्म कुर्नुहुन्छ जस्तो लाग्दैन ।’
बर्दिबास नगरपालिकामा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर प्रह्लाद क्षेत्रीको समर्थनमा महोत्तरी १ बाट प्रतिनिधिसभामा उम्मेदवारका रुपमा पाेषण थापा उठेका छन् ।कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणले पार्टीमा पुनः फर्किएका सबै युवाहरुलाई स्वागत गरिन् ।