पूर्व सभामुख सरोज यादवलाई स्वतन्त्र उम्मेदवारको चुनौती

आज्ञा खबर

आज्ञा खबर
मधेस प्रदेश सभाका पूर्व सभामुख सरोजकुमार यादव बारा–१ ९ख० बाट आफूलाई मधेस प्रदेशको भावी मुख्यमन्त्री रुपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । तर उनलाई स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिएका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको सिफारिसमा सभामुख भएका यादव जसपा विभाजनपछि जसपामा कि लोसपामा धेरै दिनसम्म कुनै कित्तामा खुलेका थिएनन् ।

चुनावको मिति घोषणा भएपछि मात्र उनी आफू जसपामै रहेको भन्दै सो पार्टीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनलाई अहिले एमालेले साथ दिएको छ । बारा–१ ९ख० मा प्रदेश सभा सदस्यका लागि १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमध्ये ६ जना दलबाट र ८ जना स्वतन्त्र उम्मेदार छन् ।

जसमा नागेन्द्रकुमार कानुले काँग्रेस, बतहु राय यादवले नेकपा एकीकृत समाजवादी पार्टी, सिताराम प्रसाद नेपालीले जनमत पार्टी, उमेश प्रसाद कलवारले नागरिक उन्मुक्ति पार्टी र जोखु साह कानु राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै, संजयप्रसाद यादव, विन्देश्वर यादव, कमरुल्लाह अन्सारी, अशोककुमार यादव, राजकुमार प्रसाद साह, अरुण कुशवाहा र प्रभुदास तत्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच गठबन्धन थियो । सोही गठबन्धनबाट सरोज यादव चुनाव लडेका थिए । उनले त्यतिबेला १४ हजार २६९ मत ल्याएर विजयी भएका थिए । त्यस्तै, काँग्रेसका भागवतप्रसाद साहले ८ हजार १२६ तथा माओवादीका मोहम्मद इस्लाम अन्सारीले ५ हजार ४३५ मत ल्याएका थिए । त्यतिबेला माओवादीलाई एमालेको पनि साथ थियो ।

जसपा–लोसपा ९त्यतिबेलाको फोरम–राजपा० गठबन्धनबाट चुनाव जितेका सरोज यादव यसपटक जसपाबाट चुनाव लडेका छन् । नेपाल सद्भावना पार्टीमा लामो समय राजनीति गरेका उनी राजेन्द्र महतोको साथमा राजपामा थिए । राजपा–समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । राजपा अर्थात् लोसपा अहिले पाँच दलीय गठबन्धनमा छ । लोसपाले काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार नागेन्द्रकुमार कानुलाई सघाइरहेको छ ।

बारा–१ ९ख० मा तीनवटा पालिका छन् । जसअन्तर्गत सिम्रौनगढ नगरपालिका लोसपाले जितेको छ भने आदर्श कोतवाल गाउँपालिका काँग्रेस र बारागढी गाउँपालिका जसपाले जितेको छ । यो क्षेत्रमा बारागढी गाउँपालिकाका तीनवटा वडा मात्र पर्छन् । त्यो तीनमध्ये जसपाले दुई र काँग्रेसले एउटा वडा जितेका छन् ।

यता सत्ता गठबन्धनमा दुईजना उम्मेदवार भएका छन् । काँग्रेस नागेन्द्रकुमार कानु र नेकपा एकीकृत समाजवादी पार्टीका बतहु राय यादव उम्मेदवार बनेका छन् । त्यसै गरी, लोसपाबाट विद्रोह गरी संजय यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनमा भएको विवादको फाइदा संजय यादवलाई भइरहेको छ ।

बाराका स्थानीय पत्रकार सिकेन्द्र साहले भने, ‘चुनाव जित्ने सम्भावना सरोज यादवको छ तर स्वतन्त्र उम्मेदवार संजय यादवले कडा टक्कर दिएका छन् ।’ सरोज यादवका लागि स्वतन्त्र उम्मेदवार संजय यादव चुनौती बनेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका संजय यादव मधेस राजनीतिका पुराना नेता हुन् । मधेस आन्दोलनदेखि मधेसी जनअधिकार फोरम हुँदै लोसपासम्म पुगेका नेता हुन् उनी । उनलाई आन्तरिक रुपमा लोसपालगायत अन्य पार्टीहरुको पनि समर्थन रहेको पत्रकार साह बताउँछन् ।

सत्ता गठबन्धनमा दुईजना उम्मेदवार भएकाले उनीहरु त्यतिकै कमजोर भएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एस० र काँग्रेसको आआफ्नै उम्मेदवार छन् । लोसपाबाट संजय यादव विद्रोह गरेर उम्मेदवारी दिएका छन् । गठबन्धनमा रहेको माओवादीले कसलाई मत दिन्छ, त्यसमा पनि चुनावी नतिजा भर पर्ने पत्रकार साहको विश्लेषण छ ।

सिम्रौनगढ नगपालिकास्थित नगर आँखा अस्पतालमा कार्यरत डा। दिलिप यादवले यहाँका मतदाताले नयाँपन खोजेको बताए । सरोज यादवको पारिवारिक पृष्ठभूमि राजनीतिमय छ, लामो समयदेखि राजनीतिमा छन् तर यहाँका जनताका लागि उपलब्धिमुलक कार्यक्रम नगरेको उनको गुनासो छ ।

सरोज यादव संघीय मन्त्री पनि भइसकेका हुन् । उनी नेपाल सद्भावना पार्टी तथा राजपा नेपालका उच्च पदमा रहिसकेका छन् । मधेस प्रदेशका प्रदेशसभाका सभामुख जस्तो गरिमामय पदमा रहिसकेका छन् तर यहाँका जनताका लागि उनले कुनै काम नगरेको गुनासो क्षेत्रभरि सुन्न सकिन्छ भन्छन् डा। दिलिप यादव ।

काँग्रेस, एमाले, माओवादी पहिलादेखि नै यहाँ कमजोर छन् । ती दलहरुले गठबन्धन बनाएपनि यसमा विवाद छ । घरदैलो कार्यक्रममा जसपा र काँग्रेसभन्दा बढी भीडभाड स्वतन्त्र उम्मेदवार संजय यादवकोमा देखिने गरेको छ । यसले संजयको पलरा भारी रहेको दावी डा यादवको छ ।

तत्कालीन नेपाल सद्भावना पार्टीदेखि नै सरोज यादवका साथमा काम गरेका जगत कुशवाहा पनि संजय यादवको पक्षमा उभिएका छन् । उनी भन्छन्, ‘सरोज यादवले यस क्षेत्रका जनतालाई धोका दिएका छन् । लोसपाबाट सभामुख बने, सधँै लोसपाको वकालत गरे तर टिकट लिनेबेला जसपामा गए । यसले यहाँका जनता उनीप्रति रुष्ट छ ।’

सरोज यादवका भाइ रामकिशोर राय यादव पनि उनका साथमा छैनन् । रामकिशोर राय यादव बारा–१ मा प्रतिनिधि सभा सदस्यका आकाँक्षी थिए । तर जसपाले उनलाई टिकट नदिएपछि उनी बारा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रामकिशोरलाई टिकट नदिएको कारण त्यहाँका स्थानीय जसपाका नेताहरु सरोज यादवप्रति पनि असन्तुष्ट रहेको नेता कुशवाहाले बताए । रातोपाटीबाट साभार

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...