आज्ञा खबर
जनकपुरधाम
काठमाडौं र जनकपुरमा भित्ते चित्रकला उत्सव गर्ने भएको छ । उत्सव समावेशीकरण र समानता विषय केन्द्रित रहने आयोजक संस्था आर्टुडियोले बुधबार सञ्चारकर्मीलाई जानकारी दिएको हो ।
भित्ते चित्रकलाले सहरको सुन्दरता बढाउने भएकाले अमेरिकन एम्बेसीसँगको सहकार्यमा उत्सव गर्न लागेको आयोजक संस्थाका अध्यक्ष तथा चित्रकार कैलाश के श्रेष्ठले बताए । उनका अनुसार उत्सवमा सहभागी हुन नेपाली कलाकारलाई खुल्ला आह्वान गरिएको छ ।
‘सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकाले भित्ते चित्रकला समसामयिक सन्दर्भमा प्रवद्र्धन तथा उत्प्रेरित गर्न परियोजना गरिएको’ श्रेष्ठ बताउ“छन् ।
उत्सवलाई ‘भित्तेकला परियोजना २०२२’ नाम दिइएको छ । जसमा १८ देखि ४० वर्षबीचका कलाकार, म्युरलिस्ट, सडक÷ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सिर्जनात्मक अभ्यासकर्ताले सहभागी हुन पाउनेछन् ।
आगामी २७ कात्तिकसम्म प्राप्त आवेदनबाट दुई चरणमा छनोट भएका कलाकारलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्तेचित्र सिर्जनामा सहभागी गरिने भएको छ । सहभागी हुने कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिनेछन् ।
नेपाली कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्तेचित्रकारबीच सहकार्य गरिने कार्यक्रमले सार्वजनिक थलोको सम्मान, कलाकारबीच सहकार्य, आत्मनिरीक्षण प्रवद्र्धन र आमसमुदायलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गर्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशन संयोजन गरेर उत्सवमार्फत सहरका भित्ता जीवन्त बनाइने भएको छ ।





































