आज्ञा खबर
बारा
सिम्रौनगढमा हाल स्थापना गरीएको मालपोत तथा नापी कार्यालय सबै सेवाग्राहीको पायक स्थनमा नरहेको भन्दै मालपोत तथा नापी कार्यालयको सेवा कलैयाबाटै दिन सेवाग्रहीले माग गरेका छन।
सिम्रौनगढमा सो दुई कार्यालय स्थापना गर्न सात वर्षअघि सरकारले निर्णय गरेको थियो । त्यही निर्णयअनुसार गत भदौ १५ मा कार्यालय स्थापना भएको थियो ।
तर त्यहाँबाट अपायक पर्ने सुवर्ण, देवताल गाउँपालिकाको पूरै वडा र महागढीमाई नगरपालिकाको ९ नम्बर वडाका सेवाग्राहीले कलैयाबाटै सेवा पाउनुपर्ने भन्दै एक सातादेखि आन्दोलन थालेका हुन् । साविक २७ वडा गाविस (५ पालिका) को सेवा सिम्रौनगढबाट दिने सरकारको निर्णय छ । तर, सुवर्ण र देवताल गाउँपालिकाका पूरै वडा र महागढीमाईको एउटा वडालाई सिम्रौनगढ सहज नहुने देखिएको छ ।
‘यी पालिकाकाका सेवाग्राहीलाई सिम्रौनगढ १५ किमि जति छ । तर कलैया बढीमा ७÷८ किमि छ । त्यसैले कलैयाबाटै सेवा दिनुपर्छ,’ महागढीमाई ९ का वडाध्यक्ष दिलीप शुक्लाले भने, ‘दैनिक विरोध प्रदर्शन र ज्ञापनपत्र दिएका छौं । तर सुनुवाइ भएको छैन ।’ सिम्रौनगढको मालपोत कार्यालयको उद्घाटन गरिए पनि सेवा सञ्चालन भएको छैन । कलैयाबाट स्रेस्ताहरू त्यहाँ लगिइसकेको छैन । दुई साताअघि फर्निचर, दराज र कम्प्युटरहरू लगिएको थियो । कलैया मालपोतका प्रमुख अधिकृत गोपालप्रसाद बरालले अपायक पर्नेलाई कलैयाबाटै सेवा दिइने बताए । ‘निर्णय गरेर माथि पठाइसकेका छौं, उतबाट निर्णय भएर आउन बाँकी छ,’ उनले भने ।
