आज्ञा खबर
धनुषा,
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।
बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।
बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको प्रमुख अधिकारीले बताए ।
यसभन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर अख्तियारले सम्बन्धित कागजात लिएको थियो । त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ ।
बृहत्तरले मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेका जिल्लाका विभिन्न पालिकाबाट दर्जनाँै उजुरी अख्तियारमा छन् ।
बृहत्तरले काम नै नगरी मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेको छ । रासस