आज्ञा खबर
सिमरा
बारामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गर्ने सरकारी निर्णय कार्यान्यवन हुन ८ वर्ष लागेको छ। जिल्लाको दक्षिणी भेगमा रहेको स्रिमौनगढमा सेवा केन्द्र थप गर्ने निर्णय कार्यान्यवनमा आउन आठ वर्ष लागेको हो।
बललबउगचलब उयकत
तत्कालीन प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले २०७१ साल असोज ३० गते कलैयास्थित जिल्ला मालपोत र नापी कार्यालयको सेवा केन्द्र सिमरा र सिम्रौनगढमा थप गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयअनुसार सिमरामा ४ वर्षपछि मालपोत कार्यालय स्थापना भए पनि सिम्रौनगढमा भने हुन सकेको थिएन।
निर्णयको करिब ८ वर्षपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार कार्यालयको उद्घाटन गरेकी छन्। मन्त्रालयको सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच मन्त्री श्रेष्ठले मालपोत कार्यालयको उद्घाटन गरेकी हुन्।
कार्यालय उद्घाटन भए पनि जिल्लास्थित मालपोत कार्यालयबाट जग्गाको स्रेस्ता भने सिम्रौनगढ लगिएको छैन। कार्यालय उद्घाटनसँगै अब स्रेस्तासहित कागजात लगेर कार्य थालनी गरिने तयारी रहेको बताइएको छ। सिम्रौनगढ सेवा कार्यालयका लागि कौशलकिशोर झालाई प्रमुख तोकिएको छ।
सिम्रौनगढमा स्थापित उक्त कार्यालयबाट सिम्रौनगढ, पचरौता, आदर्शकोतवालको सबै वडा र महागढी, देवताल, बारागढीको एक–एक वडाका नागरिकले सेवा लिन सक्नेछन्। सेवा केन्द्र विस्तार हुन नसक्दा उक्त क्षेत्रका नागरिक कलैया आएर सेवा लिनुपर्ने बाध्यतामा थिए।
कलैयास्थित कार्यालयबाट जिल्लाभरीको सेवा प्रदान गर्न असहज, झन्झटिलो र सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण सरकारले जिल्लाको उत्तरी र दक्षिणी भेगमा सेवा केन्द्र विस्तार गरेको थियो। तर, उक्त निर्णयविरुद्ध कलैयामा आन्दोलन समेत भएको थियो। जिल्ला समन्वय समितिको नेतृत्वमा सुरु भएको उक्त आन्दोलन अन्तिममा कलैया बचाउ संघर्ष समितिले नेतृत्व गरेको थियो।
कलैयामा भएको आन्दोलनका कारण सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय स्थगनसमेत गरेको थियो। यता सेवा केन्द्र विस्तार गर्ने आफ्नै निर्णय सरकारले फिर्ता लिएपछि सिमरामा भने अर्को आन्दोलन सुरु हुन पुग्यो। सेवा केन्द्र स्थापना हुनुपर्ने भन्दै सिमरामा भएको आन्दोलन हिंसात्मक बन्न पुगेपछि सरकारले २०७१ फागुनमा स्थगनको निर्णयबाट पछि हटेको थियो।
स्थगनको निर्णय सच्याए पनि सेवा केन्द्र विस्तारको निर्णय अन्यौलमा परेपछि सरकारले २०७५ जेठ २० गते सेवा सुचारु गर्न सम्बन्धित कार्यालयलाई पुनः निर्देशन दिएको थियो। सरकारको निर्देशनबमोजिम सिमरामा कार्यालय स्थापना हुन भने चार वर्ष लाग्यो।
जितपुरसिमरा–३ स्थित बजनीमा भवन भाडामा लिएर जिल्लास्थित मालपोत कार्यालयबाट २०७५ साउन ३१ गते स्रेस्ता ल्याइएको थियो। स्रेस्ता ल्याएर सिमरामा मालपोत र नापीको सेवा सुचारु गरेको ४ वर्ष बितिसक्दा पनि सिम्रौनगढमा भने कार्यालय स्थापना समेत हुन सकेको थिएन।
सरकारी निर्णयअनुसार सिम्रौनगढमा नापी कार्यालय सोही समय स्थापना गरिएको थियो। मासिक ३२ हजारसम्म घर भाडा तिरेर नापी कार्यालय सिम्रौनगढमा राखिएको भए पनि मालपोत कार्यालय स्थापना गर्न नसक्दा उक्त कार्यालयले सेवा दिन सकेको थिएन। मालपोत कार्यालय विस्तार नभएका कारण ३ वर्षपछि नापी कार्यालय पुनः कलैया फर्काइएको थियो।
८ वर्षपछि मालपोत कार्यालय र नापी कार्यालय दुवै स्थापना गरेर उद्घाटन गरिएको हो। कार्यालय उद्घाटन भएपछि यस क्षेत्रका स्थानीय हर्षित भएका छन्। कार्यालय उद्घाटन कार्यक्रममा पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, सिम्रौनगढका नगर प्रमुख किशोरीप्रसाद साह देवताल गाँउपालिकाका अध्यक्ष उदयप्रसाद यादव, आदर्शक कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साह कानुलगायत सेवा प्राप्त गर्ने स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो।
साभार अन्नपुर्ण पोस्ट
