आज्ञा खबर
धनुषा
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धन सिट बाँडफाड र आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन् । मधेस प्रदेशमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा माहोल बनाउन क्रियाशील भइरहेको देखिएको छ त केही नेता भने निर्वाचन क्षेत्र छनोटमै अलमलिएका छन् । मधेस प्रदेशका कतिपय प्रभावशाली नेताहरु भने बिगतकै चुनाव क्षेत्रमा दोहो¥याएर उम्मेदवार बन्ने योजनामा छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा प्रतिनिधिसभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाटै दोहोरिन चाहेका छन् । यस पटक सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि रौतहट क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने चर्चा छ ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । भण्डारीले महोत्तरीको क्षेत्र नम्बर २ र ठाकुर महोत्तरीको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन्
सत्तारुढ जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले समेत महन्थ ठाकुर निर्वाचित भएको क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन्
२०७४ को निर्वाचनमा राजेन्द्र महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए । हाल उनी त्यहि क्षेत्रबाट चुनाब लडने तयारीमा छन।
धनुषा क्षेत्र नम्बर ३ बाट यस पटक एमाले नेतृ जुलीकुमारी महतोले समेत उम्मेवारीको घोषणा गरिसकेकी छन् । त्यस्तै लोसपा नेता उमाशंकर अरगरिया पुनः धनुषाको क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने तयारीमा छन् ।
लोसपा नेपालका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल ०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । तर यस पटक उनले अहिलेसम्म पनि कहाँबाट उम्मेदवारी दिने भन्ने निर्धारण गरिसकेका छैनन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई अहिलेसम्म बारा, सिरहा र महोत्तरीबाट पार्टीको जिल्ला समितिले सिफारिस गरेको छ । तर उनी कहाँबाट उम्मेदवार बन्ने भन्ने अझै प्रस्ट भइसकेको छैन ।
गठबन्धनको भरोसामा रहेका नेकपा माओवादी केन्द्रले अझैसम्म पनि मधेस प्रदेशमा निर्वाचन अभियान थालनी गर्न सकेको छैन । गठबन्धनभित्रै रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु निर्वाचनको आन्तरिक तयारीमा रहे पनि माओवादी भने गठबन्धनकै भरमा देखिन्छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी लगायत साना दल भने आ–आफ्नै किसिमले क्रियाशील देखिन्छन् । पाँच दलीय गठबन्धनबीच राम्रो तालमेल भएको अवस्थामा भने मधेस प्रदेशमा गठबन्धनबाहिरका दललाई निकै चुनौती पुग्ने देखिएको छ।





































