आज्ञा खबर
धनुषा
जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् । आइतवार महोत्तरीको बर्दिबासबाट जनकपुरधामस्थित कार्यालयमा गएर उनीहरुले धर्ना दिएका हुन् ।
रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले लापरवाही गर्दै कम मुआब्जा भुक्तानी दिइरहेको आरोप लगाए ।
पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग गुनासाहरू सुनाएपछि महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्पनीमा नभई रेल्वे विभाग अन्तर्गत रहेकाले यसमा आफुले तपाईंहरुको समस्या बारे पहल गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले पीडितहरुले राखेको धारणालाई विभागमा पुर्याइदिने तर यसमा आफुले नै भने केही गर्न नसक्ने स्पष्ट पारे । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबास सम्ममा रेल्वे सञ्चालनका लागि तीन चरणमा काम हुँदैछ ।
पहिलो चरण अन्तर्गत जय नगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा छ भने दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गरि रेल्वे सेवा सञ्चालन गर्ने योजना रहेको छ ।





































