जलेश्वरमा मणिपाल कलेज बन्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
जलेश्वर
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मणिपाल कलेज बन्ने भएको छ । चौबीस वर्षअघि इञ्जिनियरिङ कलेज निर्माण गर्न जलेश्वर नगरपालिका–८ मा ३५ बिघा जग्गा खरिद गरेको थियो लामो समयको पर्खाइपछि
अब त्यहाँ इञ्जिनियरिङ कलेजका साथै अन्तराष्ट्रियस्तरको अन्य प्राविधिक कलेज सञ्चालनमा ल्याइने मणिपाल कलेजका निर्देशक नारायण पौडेलले बताए । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधवार मणिपाल गु्रपका निर्देशकसहितको टोली आएर स्थलगत निरीक्षण गरेको छ । निर्देशक पौडेलले अब चाँडै जलेश्वरमा मणिपाल कलेज निर्माण कार्य सुरु गरिने जानकारी दिए ।

मणिपालका अर्का निर्देशक शान्तराज बतासले जलेश्वरमा कलेज निर्माण तथा सञ्चालनका लागि गुरुयोजना बनिसकेको र सम्बन्धन लिने तथा अन्य प्राविधिक काम तीव्रगतिमा भइरहेको बताए । उनले कलेज निर्माण तथा सञ्चालनका लागि जलेश्वर नगरपालिका तथा स्थानीयवासीको साथ र सहयोग भए निर्माण कार्य सुरु गरेर चाँडै सम्पन्न गरी– गराई इञ्जिनियरिङ तथा अन्य अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षाको शुभारम्भ गरिसक्ने उल्लेख गरे ।

मणिपाल कलेजका प्रमुख इञ्जिनीयर सञ्जयकुमार गुप्ताले भारतको बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको यस क्षेत्रमा भारतीय विद्यार्थी पनि जलेश्वरमा इञ्जिनियरिङ शिक्षाका लागि आउने ठूलो सम्भावना रहेको बताए । मधेश प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्रकुमार झाले कलेज निर्माण तथा सञ्चालनका लागि सरकार तथा अन्य सरोकारवाला निकायसँग इजाजत, सहमति र सहकार्य एवं अन्य प्राविधिक क्रियाकलाप दु्रतगतिमा भइरहेको जानकारी दिए ।