महोतरी । गुणस्तरहीन काम गर्नेलाई अंकुश लगाउनुको सट्टा उल्टै प्रोत्साहन गरिन्छ भने उसको पनि नियतमा शंका गर्ने ठाउँ रहन्छ । महोतरीको मटिहानी नगरपालिका कार्यालयले गुणस्तरहीन काम गर्नेलाई भुक्तानी दिएर गलत कामलाई प्रश्रय दिएको छ । मटिहानी नगरपालिकाको वडा नम्बर –२ आबर गाउँमा रहेको ‘दुखा’ पोखरीमा गरिएको पोखरी घाट निर्माणको काममा प्रश्न उठदाउठदै नगरपालिकाले भुक्तानी दिएको हो ।
आर्थिक वर्ष सकिनै लाग्दा दुखा पोखरीमा २१/२२ मिटरको घाट निर्माणमा पालिका प्रमुख हरि प्रसाद मण्डल,प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार शर्मा इन्जिनियर विमलेश साह र खुशि निर्माण सेवाका ठेकेदार नविन यादवको मिलोमतो गरिएको गुणस्तरहीन कार्य योजना सबैभन्दा बढी विवादित बन्यो । ठेकेदार मार्फत गरिएको करिब २० लाख रुपैयाको यो काम अपारदर्शीरुपमा गुणस्तरहीन सामान प्रयोग गरेर मापदण्डविपरित भएपछि प्रश्न उठेको हो । उनीहरुले आफनो नजिकको ठेकेदारलाई उक्त पोखरीमा घाट निर्माणका लागि असार मसान्तमा कार्यकर्ता पाल्ने हिसाबले ठेक्का कमिसन पाएकै भरमा दियो तर अहिले निर्माण भएको १ महिना नवित्दै उक्त घाट भत्किन शुरु भएको छ ।
स्थानीयले बारम्बार खबरदारी गर्दा पनि सुनुवाई गर्नुको सट्टा कार्यालयले ठेकेदारलाई २० लाख अर्थात १००प्रतिशत रकम भुक्तानी दिएको छ । तर फिल्डमा गरिएको काम गुणस्तरहीन मात्र छैन बनी नसक्दै भत्किएको छ । तर पनि ठेकेदारले कामको गुणस्तरीयतामा प्रश्न उठाउने ठाउँ नभएको दाबी गर्न छाडेको छैन ।
मटिहानी नगर पालिका २ का वडाअध्यक्ष नाजिर मियाँले योजनामा गुणस्तरहीन गिटी, बालुवा, ढुंगालगायतका सागम्री प्रयोग भएका बताएका छन । घाट स्टिमेट अनुसार बनाइएको छैन भने बनि नसक्दै भत्किएकाले उनलाई छानविनको दायिरामा ल्याईने बताए । आफू असारको बेला वडाको अन्य कामकाजमा व्यस्त भएको मौका छोपी ठेकेदारले मनोमानी गरेर कमसल सामग्रीहरुको प्रयोग गरेको र ईन्जिनियरले ठेकेदारसँग आर्थिक चलखेल गरेर काम सम्पन्न हुनु अगाडि नै आफूसँग काम सम्पन्नको सिफारिस समेत गराएको बताए ।
स्थानीय जयकिहोर मुखियाले ठेक्केदारले घाट निर्माणमा दुइ नं को इट प्रयोग गरेको, कुनै पनि ठाउँमा रडको प्रयोग नगरेको र नक्कली सस्तो सिमेन्ट प्रयोग गरेका कारण यो १ महिना नवित्दै भत्किएका बताए ।
घाट निर्माण गरिरहँदा आफूखुशी २ नम्बर ईँटा प्रयोग गरेको, सिमेन्ट कमसल र कम प्रयोग गरेको तथा कुनै पनि स्थानमा रडको प्रयोग नगर्दा स्थानीहरुले विरोध गरेपछि ठेकेदारले पालिका प्रमुख र ईन्जिनियरहरुको धाक धम्कीको बलमा गरीब निमुखा र बोल्न नसक्नेहरुको बस्ती नजिकै जबरजस्ती कमजोर निर्माण कार्य गरेको स्थानीय रामभरेस महतोलेबताए ।
आफूहरु पटक पटक वडा अध्यक्षलाई कमसल काम रोक्न आग्रह गरेको, ईन्जिनियर र मेयर समेतलाई आग्रह गर्दा पनि कसैले सुनुवाई नगरेको स्थानीय तेतरी देवीले बताए । पानी परेको बेला घाटको काम गुणस्तरीय छ÷छैन एकिन नै नभई पैसा फस्र्यौट गर्न नहुने स्थानीयको माग छ । तर पनि ठेकेदारले कामको गुणस्तरीयतामा प्रश्न उठाउने ठाउँ नभएको दाबी गर्न छाडेको छैनन् । योजनामा गुणस्तरहीन गिटी, बालुवा, ढुंगालगायतका सागम्री प्रयोग भएका छन । घाट स्टिमेट अनुसार बनाइएको छैन भने पर्खाल बनि नसक्दै भत्किएका छन । घाटको बेस र सबबेस बलियो नभएको स्थानीय बताउछन । कार्यालयले भने योजनाको काम सम्झौता बमोजिम सन्तोषजनक नै रहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकुत राजेश कुमार शर्माले दाबी गरेको छ । उपभोक्ताको गुनासो र समस्याको भने सुनुवाई हुने उनले बताए ।
असार अन्तिममा गरिने अधिकांश योजनाको काम गुणस्तरीय नहुादा सरकारको लगानी पानी माथि बालुवा झै हुने गरेका छन । अझ नियामक निकायको आँखा चिम्लिदिने प्रवृत्तिले यो समस्या झनै मौलाउँदै गएको देखिन्छ । राजधानीबामट साभार
