आज्ञा खबर
काठमाडौं: नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। छ सदस्यीय टोलीको नेतृत्व गर्दै २६ असारमा काठमाडौं आएका उनले भ्रमणको अन्तिम दिन आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि सबै मित्र राष्ट्रको सहयोग नेपाललाई आवश्यक रहेको बताएकी छन्। नेपाल र चीनको सम्बन्ध हार्दिक रहेको बताउँदै राष्ट्रपति भण्डारीले सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताइन्।
“चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धले नयाँ आयाम लिएको छ,” राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीका प्रेस सल्लाकार टिका ढकालले भने, “हामी हाम्रो विकासमा चिनियाँ सहयोगको अपेक्षा गछौँ।”
यस्तै राष्ट्रपतिसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले चीनले नेपालका सबै राजनीतिक पार्टीसँग सम्बन्ध बढाउन चाहेको बताएका छन्।
राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लिउको कुराकानी उद्धृत गर्दै ढकालले भने, “चीन नेपालका सबै राजनीतिक पार्टीसँगको सम्बन्ध विस्तार गर्न चाहन्छ। नेपालका सबै राजनीतिक पार्टीले नेपालबाट हुनसक्ने चीन विरोधी गतिविधिलाई रोक्न खेलेको भूमिकाका हामी प्रशंसा गछौँ।”
२६ असारमा काठमाडौं ओर्लिएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गरेका थिए। उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले सोही दिन रात्रीभोजको आयोजना समेत गरेका थिए।
यस्तै २७ असार बिहान सुन्दरीजलस्थिल वीपी संग्राहलय पुगेका लिउले अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका पार्टीका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। उनको सम्मानमा सोही दिन दाहालले रात्रीभोजको आयोजना गरेका थिए भने रात्रीभोजअघि दुई नेताबीच एकल वार्ता भएको थियो।२८ असारमा उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। करिब ६ घण्टा चलेको भेटवार्तासँगै लिउको सम्मानमा ओलीले बालकोटस्थित आफ्नै निवासमा दिवाभोजको आयोजना गरेका थिए। ओलीसँगको भेटवार्तापछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए।
लिउ नेतृत्वको टोली आजै स्वदेश फिर्ता जाने कार्यक्रम छ।





































