आज्ञा खबर
रौतहट
सार्वजनिक बिदामा पठनपाठन गरेको भन्दै रौतहटको गौर नगरपालिकाले विद्यालयहरूलाई कारण पठाउन निर्देशन दिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इदमा दिइएको बिदामा पठन पाठन गराएकोमा नगरपालिकाले सोमबार विद्यालयहरूको नाम तोकेरै पठनपाठन गराउनु पर्ने कारण खुलाएर पठाउन निर्देशन दिएको हो ।
कानुन अधिकृत धीरेन्द्रकुमार लाल दासद्वारा जारी निर्देशनमा १०वटा संस्थागत विद्यालयलाई सूचना विपरीत विद्यालय सञ्चालन गर्नुपर्ने कस्तो बाध्यता थियो र सूचना पालना गर्नु नपर्ने कुनै कारण भए उल्लेख गरी पठाउन भनिएको छ ।
नगरपालिका (प्रमुख स्तरीय)को २४ असारको निर्णयानुसार २७ असारमा बकर इदको अवसरमा एक दिन सार्वजनिक बिदा दिइएको थियो । नगरका सामुदायिक विद्यालय सबै र संस्थागत विद्यालयमध्ये केहीले उक्त सूचना पालन गरी विद्यालय बन्द गरेका थिए । तर, १० वटा संस्थागत विद्यालयले पठनपाठन गरेको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक बिदा सम्बन्धी सूचनाको अवज्ञा गरी विद्यालयमा पठनपाठन गराउँदै एक नगरमा दुई नियमको परिचय दिएको नगरपालिकाले जनाएको छ । ‘सूचनाको अवज्ञा गरी विद्यालय सञ्चालन गरी एक नगरमा दुई नियमको परिचय दिनु भएको अभिभावकको गुनासो र स्थलगत निरीक्षणको क्रममा देखिएकोले कारण खुलाएर पठाउने’ पत्रमा उल्लेख छ ।





































